पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, चार जिल्ला कोरोना ‘फ्री’

काठमाडौँ, २३ असार : नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ को आधारमा निको हुनेको दर ४६.३८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो । आइसोलेशनमा रहनेको सङ्ख्या आठ हजार ६३४ रहेको छ । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमण दर ओरालो पछिल्ला पाँच दिनमा कूल परीक्षणको तुलनामा सङ्क्रमित हुनेको प्रतिशत निरन्तर घटिरहेको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसिरहेकाको सङ्ख्या पनि घट्दो रहेको उहाँको भनाइ छ । यही असार १९ गते नयाँ पोजेटिभको सङ्ख्या ७४० (१६.५ प्रतिशत), २० गते २३२ (५.७ प्रतिशत), २१ गते २९३ (६.२ प्रतिशत), २२ गते १८० (३.८२ प्रतिशत) र आज २०४ अर्थात् ३.३ प्रतिशत नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यस्तै आइसोलेशनमा उपचाररत सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । यही असार १९ गते आइसोलेशनमा कूल नौ हजार ८४ सङ्क्रमित उपचारत रहेकामा २० गते नौ हजार ४२, २१ गते नौ हजार २०३, २२ गते नौ हजार ११८ र २३ गते आठ हजार ६३४ जना उपचारका क्रममा रहेका छन् । प्रदेश २ मा महोत्तरी र रौतहट, प्रदेश ५ पाल्पा र सुदूरपश्चिम प्रदेशमा अछाम, कैलाली र बाजुरमा अहिले पनि ५०० भन्दा बढी सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो । पिसिआर परीक्षणमध्ये कूल सङ्क्रमणको दर ६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना पोजेटिभमध्ये मृत्युदर ०.२ प्रतिशत र जम्मा मृत्युप्रति दश लाख (पोजेटिभ)मा १.२ प्रतिशत रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् । कूल ७७ जिल्ला नै कोरोना प्रभावित भएकामा पछिल्लो समय चार जिल्ला ‘कोरोना फ्री’ भएका छन् । प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा कोरोनाको ‘एक्टिभ केस’ नरहेको प्रवक्ता डा गौतमले बताउनुभयो । “चारवटा जिल्लामा अहिले कुनै पनि कोरोना सङ्क्रमित बिरामीहरु हुनुहुन्न,” उहाँले भन्नुभयो । कर्णालीमा आइसोलेशन रित्तिँदै कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्कने क्रम दिन प्रतिदिन बढ्दै गएपछि आइसोलेशन केन्द्र रित्तिँदै गएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । आइतबार पुष्टि भएको नौजनासहित कूल सङ्क्रमितको सङ्ख्या एक हजार ४९८ पुगेको छ । एक हजार ३१ जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाको इपिसेन्टर बनेको दैलेखमा मात्रै ७०३ जनाले कोरोना जितेर ‘डिस्चार्ज’ भएका छन् ।

२३ असार २०७७, मंगलवार १९:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..