उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको खाना खाइवरी कामधन्दा सकेर सिरकभित्र नै गुटुमुटु भएर टिभी हेर्दै छे । बच्चाहरू तथा घरका अन्य सदस्यहरू कोही मोबाइल त कोही ल्यापटपमा व्यस्त छन् । शीतल रिमोट थिच्दै च्यानल चेन्ज गर्दै थिई । एउटा समाचारमा गएर ऊ टक्क अडिई । टिभीमा समाचार प्रसारण हुँदै थियो ।

आज हामी आफूलाई एक्काइसौँ शताब्दीका सभ्य र आधुनिक मानव ठान्छौँ तर अर्कोतिर हामीले हाम्रा संस्कार र परम्पराका नाममा कहिल्यै नफुस्कने गरी बाँधिएका कुरीति र कुसंस्कारको पोको काखी च्याप्न छाडेका छैनौँ । लाग्दछ, सिङ्गो मानवताले नै लाजले शिर निहु-याउँदै छ । संस्कार र परम्पराका नाममा आज यिनै कुरीति र कुसंस्कारको वेदीमा एक किशोरीले बली चढ्नु प-यो । छाउगोठमा बसेकी एक किशोरीको चिसोले कठाङ्ग्रिएर मृत्यु भयो । किशोरी केही दिनदेखि बिरामी थिइन् । ज्वरो आउँदै थियो । यसै बीचमा महिनावारी भइन् र छाउगोठमा सुत्न गएकी थिइन् ।

शीतलका आँखा टिभीमा थिए तर उनका आँखाले टिभीमा प्रसारित ती समाचारका दृश्यहरू पढ्दै थिएनन् । कानले ती समाचारहरू सुन्दै थिएनन् । उसको मन त बारम्बार दैनिकजस्तो नेपालका अछामलगायतका सुदुर पश्चिमका नारीहरूले धर्म, संस्कार र परम्पराका नाममा भोग्नु परेका कल्पनै गर्न नसकिने कहालीलाग्दो पीडाको अनुभूतिमा विचरण गर्दै थियो । आँखाबाट अनायासै आँसु बग्न थाल्यो।
समाचार आइरहन्छन् , आज अछामको अमुक गाँउमा छाउगोठमा जाडो भगाउन बालिएको आगोको धुँवामा निस्सासिएर दुई बच्चासहित एक महिलाको मृत्यु…….छाउगोठमा बसेकी महिलालाई बाघले खायो••• छाउगोठमा बसेकी युवतीको सर्पले टोकेर मृत्यु…..छाउगोठमा बसेकी एक किशोरीको सामूहिक बलात्कार र हत्या…..आदि आदि।

शीतल अनायासै ती मृत्यु हुने युवती र महिलाको ठाउँमा आफू,आफ्ना दिदीबहिनी तथा छोरीहरूआरोपित गर्न पुग्छे । उसको सर्वाङ्ग काँपेर आयो । मनभित्र एक प्रकारको विक्षिप्तता पैदा भयो । आफ्ना संस्कार र परम्परालाई भुल्नु हुँदैन यी सब हाम्रो आफ्नो मूल पहिचान हो भन्ने मान्यता हुँदाहुँदै पनि एकाएक ती मान्यताका पर्खाल भत्कन लागेझैँ भयो । वितृष्णा जागेर आयो , आक्रोश उत्पन्न भयो । एकदमै असहाय अनुभूति गरी । परम्परा , धर्म र संस्कारका नामका वेदीमा बली चढेका हजारौँ चेलीहरूका दर्दनाक स्वर कान हुँदै छातीसम्म प्रवेश गरेजस्तो भयो । छाती फुट्लाजस्तो भयो । भएभरको ताकत लगाएर चिच्याऊँजस्तो लाग्यो।

महिनावारी एक प्राकृतिक र नियमित प्रकृया हो ।महिनावारी कुनै पाप नभै सृष्टिलाई निरन्तरता दिनको लागि प्रकृतिको अनुपम वरदान हो । महिलाको शरीरको बनावटमै वायोलोजिकल्ली प्राप्त वरदान हो । सृष्टिकै निरन्तरता र विस्तारका लागि अपरिहार्य पक्ष हो । यस्तो प्राकृतिक कुरालाई नेपाललगायत दक्षिणपूर्वी एसियामा भने हेर्ने दृष्टिकोण फरक रहेको पाइन्छ । यसको मूल कारण के हो ? चेतनाको विकास र परिवर्तन खै कहिले होला ? सोचनीय विषय रहिआएको छ । यस प्रकारको पितृसत्तात्मक सामाजिक संरचनाको तेल पेलाइबाट नारीहरूले खै कहिले मुक्ति पाउलान् ? अन्धविश्वासको वेदीमा नारीहरूले कहिलेसम्म बली चढ्नु पर्ने हो ? सिङ्गो मानवता नै लज्जित बनेझैँ लाग्यो ।
उसको अघिसम्मको समुद्रजस्तो शान्त हृदयमा अनायासै एक प्रकारको आक्रोश र विद्रोहको सुनामी आएझैँ भयो । विचारका अनेकौँ छालहरूले उसलाई आफ्नै जीवन भोगाइको पूर्वार्ध्दतिर पुर्‍याइदियो ।
मध्य पहाडी भिरालो प्राय: सबै जातजातिका मानिसको बसोबास भएको बाक्लो बस्ती शीतलको जन्मभूमि अर्थात् माइतीगाँउ। जहाँ उसले धर्तीमा पाइला टेकेकी थिई। प्रकृतिको र बाल्य जीवनको स्वर्णिम आनन्दको अनुभूति गरेकी थिई।

गाँउ अझैँ सहरको जस्तो स्वार्थी मनोवृतिबाट टाढै देखिन्थ्यो । एक अर्काबीच आत्मियता थियो । परेको बेलामा सरसहयोग भारापर्म ऐँचोपैंचो चल्थ्यो । एक अर्कालाई जित्ने होडबाजी थिएन । यद्यपी समग्रमा आर्य जातिकै बाहुल्यता रहेकोले होला उनीहरूकै रहनसहन धार्मिक संस्कार र परम्पराले सबै समुदायका रहनसहन र संस्कारमाथि अतिक्रमण गरेको थियो ।
सदियौँदेखि यसरी नै एकतामा रमाएको यस बस्तीमा पनि धर्म,संस्कारका नाममा केही कुसंस्कार र कुरीतिहरूले प्रश्रय पाइरहेका थिए । समाजले यसैलाई आफ्नो पहिचानको रुपमा सर्वस्वीकार्य निरन्तरता दिइरहेका थिए । कहिलेकाँही यसको चर्को पेलाइ र थिचोमिचोमा भने प्राय: तल्लो वर्ग र अझैँ बढी महिलाहरू पर्ने गर्दथे । महिला र पुरुषका समान गल्तिका दोषी पनि प्राय: महिला नै हुने गर्दथे र सजायका भागिदार पनि महिला नै हुन्थे । समानताको चेतना पढेलेखेकाहरूमै पनि कत्ती देखिदैनथ्यो ।

भाद्र महिनाको आधाआधी बित्दै थियो । पाखाबारीमा कोदो रोपाइँ सकिन लागेको थियो । खेतमा धान पोटाइसकेका थिए । सबैको दैनिकी भनेको बिहानै उठेर गाईवस्तुलाई घाँसपात गर्नु, जङ्गल या खेतबारीमा गएर घाँसपात लिएर आउनु, खाना खाएर दिउँसो मेलापात जानु नै हुन्थ्यो । दिउँसो स्कुल जाने केटाकेटीहरूको पनि अरु दिन दिउँसोचाँही स्कुल जान्थे भने बिहान बेलुकी त्यही रुटिन हुन्थ्यो । शनिबार त झन् आमाबाबुलाई निकै राहत अनुभव हुन्थ्यो ।
आज शनिबार स्कुल विदा थियो । त्यसैले सधैँझैँ बिहानको कामधन्दा सकेर खेतमा धान दोहोरो गोड्न जानु थियो । गाँउकै एकजना हजुरबुबा नाता पर्ने व्यक्ति हुनुहुन्थ्यो । खड्गबहादुर अधिकारी जो एक भूतपूर्व भारतीय सैनिक , गाँउमा अलि चल्तापूर्जा, सहयोगी र उमेरले डाँडा काटे पनि रसिक स्वभावका हुनुहुन्थ्यो । उहाँको शरीरमा देउता आउँथ्यो । गाँउमा कोही बिरामी भयो कि सबै गाँउलेहरू उहाँलाई नै सम्झन्थे । उहाँ पनि कुनै गाह्रो नमानी दिन होस् कि रात झारफुक गर्न जानु हुन्थ्यो । उहाँले झारफुक गर्दा ठिक हुन्छ भन्थे गाँउलेहरू ।

शीतल बिहान सबेरै उठेर आमालाई ढिकीजाँतोमा सघाई। घरधन्दा सकेर सबै घाँस काट्न गए। हतारहतार खानातिर लागे किनकी दिउँसो तिनै हजुरबुबाको मेलामा खेत गोड्न जानु पर्ने छ। सबै खाना खाँदै थिए शीतलकी सहपाठी जो तिनै हजुरबुबाको कान्छी छोरी थिई; अँध्यारो मुख लगाउँदै आएर भनी आज हाम्रो खेत नगोड्ने , अर्को दिन गोड्ने रे । तपाईंहरूको गोड्नुस् रे । भाउजू र मचाँहि आउँछौँ।
हजुरबुबाले मुखको गाँस मुखमा नै लिएर सोध्नु भयो,”किन र ? के भयो र आज?”
उसले अँध्यारो मुख लगाउँदै भनी,”भाउजू पर सर्नु भएको थियो। झुक्किएर बुबालाई छोइदिनु भएछ। बुबालाई देउता चढेको छ त्यसैले।”
भएको के रहेछ भने; हजुरबुबा पिँढीको छेउमा बसेर तमाखु तान्दै रहेछन्। माया भाउजू आँगनको छेउमा घाँसको भारी मिल्काएर पिँढीतिर आउँदै रहिछन् । अोछ्यानमा नै छोडेर गएकी आमा निकै बेरसम्म नदेखेको सानो ३ वर्षे छोरो आमालाई देख्नेबित्तिकै आमातिर दौडेछ। अचानक पिँढीको डिलबाट तल आँगनमा खस्न पुगेछ । निधारमा सानो चोट लागेर रगत पनि बगेछ। भाउजू आत्तिदै छोरा समाउन पुगिछन् । हजुरबा पनि नाति लडेको देखेपछि हुक्कानली एकातिर मिल्काएर नाति उठाउन पुगे । दुबै मिलेर बच्चालाई पिँढीमा लगेर मलम पट्टी गरेछन्।

खाना खाने तयारी भयो । हजुरबा घरको मुली चुलोको छेउमा बसेर खान थाले। घरका अन्य सदस्यहरू पनि खान बसे। सबैले खाइसकेपछि भाउजूको खाने पालो, हजुरआमाले खाना पस्किदिनु भयो। कमलाले भाउजुलाई खाना बाहिर दिन आई । भाउजूको अगाडि थाल फ्यात्त राख्दिई । भित्र हजुरआमा फत्फताउन थाल्नु भयो। हैन , बुढा अघि नाति लड्दा कतै बुहारीलाई त छुनु भएन नि? हजुरबा खाना खाएर उठ्नै लागिसकेका थिए। हैन , बुहारी पनि के भएकी? ससुरालाई देउता आउँछ भन्ने कुरा थाहा भएपछि त अलि ख्याल गर्नु पर्ने नि। बरबाद हुने भयो फेरि।
हजुरबा बाहिर नै ननिस्की भित्रै काम्न थाले । भाउजू लडेर अझैँ सुक्कसुक्क गर्दै दूध चुस्दै गरेको छोरालाई काखमा राखेर ५/७ गाँस खान के भ्याएकी थिइन् । डरले पानी बर्सन लागेको आकाशझैँ कालो निलो भइन्। डरले हो या पितृसत्तात्मक सामाजिक संरचनाले थोपरिदिएको अपराध बोधले आँखाबाट बर्सन थाले।

बिहानभरिको कामको थकान, महिनावारी हुँदा हुने पीडा, त्यसमाथि अव्यक्त मानसिक रूपको कल्पना गर्न नसकिने पीडा। खै, त्यो परिस्थितिमा बाँकी खाना नै पो कसरी खाइन् होला र? दिनभरि नै चुपचाप काम गरिरहिन्। जानेर बुझेर छोएकी पनि त होइनन् नि तर सबैको भाव त्यही देखिन्थ्यो कि त्यो घटनाको दोषी उनी नै हुन् । उनीभित्रको त्यो अथाह पीडा र व्यथाको अनुभूति गरिदिने मानवीय चेतना र हृदय कोसँग नै थियो र?
वर्षा ऋतुको विदाइ सँगै शरद ऋतुको आगमन धर्तीमा अन्नपूर्णाको राज, प्रकृतिले नै पूर्णता पाएको आभास हुँदै थियो। नेपालीका घरआँगनमा चाडवाडको बहानामा गुँडमा फर्केर आएकाहरूले फेरि उडान भर्ने तर्खर गर्दै थिए। केही समयकै लागि भए पनि सबै पीडा भुलेर रमाएका थिए। प्रकृतिको अनुपम सिर्जना पहेँलपुर भई खेतभरि हावासँग वयली खेल्दै थिए।

तिहारको रमझम एकातिर पहेँलपुर भई पाकिसकेको धान घरमा भित्र्याउने चटारो अर्कोतिर । किसानलाई खेतबारीमा नै रमाइलो लाग्छ त्यसैले तिहारको रमझमभन्दा पनि धान काट्नतिर ध्याउन्न थियो। हुन पनि हो वर्षभरिको दु: ख बिर्सेर अन्नपूर्णको स्वागतमा जुट्ने समय। कामको समयमा एकजना व्यक्ति नै पनि महत्त्वपूर्ण हुन्छ। केटाकेटीको स्कुल छुट्टी हुँदा त आमाबाबुलाई निकै राहत महसुस हुन्छ।
आज शीतलको घरभन्दा निकै पुछारमा रहेको टारी खेतमा धान काट्ने पालो थियो। खेत घरभन्दा अलि टाढा पर्ने भएकाले दिउँसो खेतालाको लागि खाजा पनि बिहान नै बनाएर लैजानु पर्ने त्यसैले बिहान निकै व्यस्ततामै बित्यो। साँढे नौमा नै सबै जम्मा भएर हल्लीखल्ली गर्दै ओरालो झरे। फाँटभरि मानिस भरिइसकेका थिए। कोही त काट्न सुरु गरिसकेका थिए । कोही आउँदै थिए, कोही डिलमा बसेर चुरोट उडाउँदै थिए। कुनै मेलाको झैँ रमाइलो थियो। काम गर्न नसक्ने केटाकेटी र बुढाबुढी बाहेक सबै खेतमा नै थिए।

जीवनको सत्रौँ वसन्तमा भर्खरै पाइला टेक्दै गरेकी शीतल निकै सुन्दर शालीन र अन्तरमुखी स्वभावकी युवती थिई। किशोरावस्था पार गरेर युवावस्थामा प्रवेश गरेको भए तापनि युवावस्थाको उमेरगत चाञ्चल्यता भन्दा बढी गाम्भीर्यताको आधिक्यता देखिन्थ्यो। त्यो गाम्भीर्य सायद बचपनदेखि घरपरिवार, आफन्त र समाजले सिकाएका संस्कारका प्रतिच्छाया होलान्। छोरी मान्छेले ठूलो स्वरले हाँस्नु हुँदैन, ठूलो स्वरले बोल्नु हुँदैन, हिँड्दा आवाज ननिस्कने गरी हिँड्नु पर्छ, हरेक कुरामा आमाबुवाको, कुलमर्यादाको ख्याल राख्नु पर्छ। छोरी भएपछि यसो गर्नु पर्छ, उसो गर्नु पर्छ आदि आदि…कुनै युगको चिनियाँ युवतीको गोडा जस्तो…।
शीतल पनि स्कुल छुट्टी भएकोले सबैका साथ रमाउँदै धान काट्न खेतमा गई। दिनभरि धान काट्नु गाह्रै काम हो तैपनि सबै रमाउँदै थिए। सायद काममा मन रमायो भने काम कुनै बोझ र थकान नभई खुसी र आनन्दको अनुभूति बन्दछ। जे काम गरिन्छ त्यसैमा रमाउन सकियो भने हरेक काममा नै खुसी र आनन्दको अनुभूति गर्न सकिन्छ।

शीतल अन्य दिनभन्दा अलि फरक अनुभूति गर्दै छे। दिन ढल्कदै जाँदा शरीर र मन दुवैले असहज महसुस गर्दै छ। एकप्रकारको बेचैनी, चिटचिटाहटको अनुभूति हुँदै छ। सोच्छे,”हैन आज किन मलाई यस्तो यस्तो गाह्रो महसुस भइरहेको छ? यस्तो खालको महसुस त कहिल्यै भएको थिएन।”
शरीर तातेकोजस्तो, ज्वरो आउला जस्तो हुँदै छ। काटेको धानको मुठी भुँइमा राख्छे, कँचिया धानको पाँजोमाथि फालेर खोल्सातिर लाग्छे।
हे भगवान्! उसको हंसले ठाउँ छोड्यो। भित्री लुगामा दाग? रिँगटा लागेजस्तो भयो, चिटचिट पसिना आयो। अब के गरूँ? होइन होला कि तर उसका समकक्षीहरू त सबै महिनावारी निकै पहिले नै भइसके। उसले नभनेको, लुकाएको त होइन भनेर पनि उसलाई जिस्काउने गर्थे। हे भगवान् ! कसलाई भनूँ ? दिदी त आज सञ्चो नभएकोले मेलामा आएकी नै छैन। त्यसमाथि सबै उतै छन्। यता कोही आउँदैनन्। यतैबाट घर जाऊँ बाटो त यताबाट छैन। घर जाने बाटो भनेकै त्यही खेतको बीचबाट मात्र हो। होइन होला । कतै जुकाले पो टोकेको पो हो कि?
खुट्टामा एउटा जुका रगत चुस्दै रहेछ। नजिकै रहेको पातीको मुन्टो चुडेर त्यसैले जुका टिपेर फाली । रगत बग्न थाल्यो। त्यही पातीको मुन्टा दली । रगत बग्न रोकियो। निर्क्यौल नै गर्न सकिन। गह्रौँ पाइलाले खेततिर नै लागी। मन लागिनलागी धान काट्न थाली।

धान काट्ने क्रममा ठूला ठूला गह्राहरूमा सबै सँगै मिलेर काट्थे भने साना गह्राहरूमा दुई जनाले काट्थे। धान काट्ने क्रममा एउटै गह्रामा दायाँ बायाँ को साथी पर्छ भन्ने हुँदैन । मेलो नै छाडेर मन पर्ने साथी नै खोज्दै जाने भन्ने कुरा पनि हुँदैन। सबैसँग हँसिमजाक गर्दै काम गर्दा मेलो सरेको र काम गरेको पनि पत्तै हुँदैन। यही निश्छल हँसिमजाक र ख्याल ठट्टा नै गाउँले जीवनको खुसी र आनन्दको स्रोत। शीतल , उसको त मुहारको मुस्कान नै गायव छ। मुस्कानको ठाउँ त चिन्ता र भयले लिएको छ।

मनको आँधीहुरीसँग कुस्ती खेल्दै धान काट्दै गरेकी शीतल अचानक झसङ्ग भई। सानासाना लामा गह्राहरू दुई दुई जना बसेर काट्दै थिए। ऊसँग छेउमा त तिनै हजुरबुबा पो परेछन्। के गरूँ गरूँ भयो उसलाई। रमाइला स्वभावका हजुरबा उमेरले सात दशकको छेउछाउमा पुगेर पनि बडो फुर्तिलो थिए। आफूभन्दा आधा कम उमेरका सँग पनि काममा प्रतिस्पर्धा गर्न चुक्दैनथे। उनले माथिल्ला तल्ला गह्रामा धान काट्नेहरूलाई सम्बोधन गर्दै भने,” सबै गह्रा लगभग उत्तिकै छन् , कसले छिटो सक्ने है?” शीतललाई धाप मार्दै भने,” ल है नानी, यिनीहरू सबैलाई नातिनी बाजे मिलेर हराउनु पर्छ। ”
शीतलको मन त्यसै डराइरहेको थियो। बेचैन थियो । लौ , वित्यास प-यो। हजुरबाले त मलाई छोए । यदि हो रहेछ भने त, हजुरबा देउता आएर यहीँ खेतमै काम्न थाले भने त? देउताले मलाई के के पो गर्ने हुन् ? पाप लाग्छ, देउता रिसाएपछि के के हुन्छ भन्छन्। अर्को कुरा सबैभन्दा त बेइज्जत पो हुन्छ त। माया भाउजूको याद आयो। डराइरहेको मनले पुलुक्क माया भाउजूतिर हेरी। भाउजू आफ्नै सुरमा धान काट्न मस्त थिइन्। मनभित्रको अव्यक्त र सुषुप्त भयले चिटचिट पसिना आयो।

दिउँसोको खाजा खाने बेला भयो। सबैले हात धोएर डिलडिलमा खाजा खान बसे। आमाले सबैलाई खाजा दिनुभयो । पेटमा भोक त लागेको थियो तर मनभित्रको अव्यक्त मानसिक भयले खान मन नै थिएन। खाजा लिएर अलि पर डिलमा बसी। ऊभन्दा माथिल्लो डिलमा बसेर हजुरबा खाजा खाँदै थिए। बिहानै बनाएको पुवा बुढ्यौली शरीर गला लागेछ। हजुरबाले पानी मागे। काकाले आफू नजिकै भएको पानीको जग शीतललाई नै दिँदै भने, “ला त नानी हजुरबालाई पानी लगेर दे।”
फेरि आपत आइलाग्यो। नलगिदिऊँ त कसरी? लगिदिऊँ , हो रहेछ भने त झन् छोएको पानी……!
ऊ मनभित्र चलेको आँधिहुरीमा निस्सासिदै थिई। हजुरबा हिक्कहिक्क गर्दै थिए। उठ्न ढिलो गरेकोले आमाले हकार्नु भयो। उठ्न पनि कति गाह्रो भएको ? यो उमेरका केटाकेटी त फुर्तिला हुन्छन् नि। बसेको ठाउँमा जरा पलाएजस्तो गाह्रो हो उठ्न पनि। हजुरबालाई गाह्रो भैसक्यो।
ऊ यन्त्रवत उठी र चुपचाप पानी लगेर दिई। उसका हातखुट्टा काम्दै थिए सायद कसैले हेक्का राखेनन्।

आज यो टारी खेत जसरी पनि धान काटेर सक्नु पर्छ। भोलि तिनै हजुरबुबाको खेतमा धान काट्ने पालो छ। बेलुका अबेर नहोस् भनेर सबै छिटो छिटो हात चलाउँदै छन्। शीतल हात त चलाउँदै छे तर तनमन दुबै ठिक छैनन्। पेट र कम्मर नमिठोसँग दुख्दैछ। केही समयपछि फेरि खोल्सातिर लाग्छे।

अब भने उसलाई पूर्ण विश्वास भयो कि ऊ पर सरेकै हो। त्यो पनि पहिलो पटकको महिनावारी। त्यसको मतलब हुन्छ; उसले कोही कसैलाई छुनु हुँदैन। केटा मान्छेलाई त हेर्न पनि हुँदैन। घाम हेर्न हुँदैन। घरको धुरी हेर्न हुँदैन। सात दिनसम्म कसैको घर या कोठामा पुरै दिन थुनिएर बस्नु पर्ने हुन्छ। छुवाछुत गर्नु हुँदैन। दिसापिसाब या नुहाउन पनि कि त सबै सुतिसकेपछि कि बिहान उज्यालो नहुँदै कोही नउठ्दै सकिसक्नु पर्छ । २१ दिनसम्म घरभित्र पस्न दिँदैनन् । खाना पनि कि आँगनमा या कि पिँढीमा लगेर पो दिन्छन् त। उसले देखेकी थिई उसकी दिदी पर सर्दा कसरी दिदी हिँडेको बाटोमा पनि सबैतिर सुनपानी र गहुँत छर्कदै हिँड्नु हुन्थ्यो हजुरआमाले । उसलाई ती सबै सम्झदैमा रिङ्गटा लागेर आयो।

के गरूँ अब ? घर जान त सम्भव नै छैन। बाटो त्यही एउटै मात्र हो । त्यसमाथि घर पुगुञ्जेलसम्म सयौँ मानिस भेटिन्छन् । दिउँसै किन घर फर्केको भनेर सोधे के जवाफ दिने ? सबै कोही न कोही नाता पर्ने। हे भगवान्! के गरूँ? यतैबाट जङ्गल पसूँ र रात नपरुञ्जेल जङ्गलमा नै बसूँ ? जङ्गल ? सम्झदै मुटुले ठाउँ छाड्यो। मनभित्र उर्लेको आँधिबेहरी कति डरलाग्दो!

खै, मनभित्रको आँधिबेहरीले कुन बाटो निकास खोज्यो कुन्नि ? के सोची कुन्नि? जङ्गल पस्ने आँट गरिन बरु खेतमा नै पो आई। मानौँ सपना पो देख्दै थिई। चुपचाप धानको गाँज अनि कचिया र त्यसबाट उत्पन्न एकोहोरो आवाज मात्र।
झमक्क साँझ पर्न आँटेको थियो। धान काटेर सकियो। सबै जना अलिअलि घाँससहित उकालो लागे। ऊ सबैभन्दा पछाडि थिई। घरनजिकै पुगेपछि सबै घरघरतिर लागे तर ऊ घरतिर नलागी धारातिर लागी। हातखुट्टा धोएर सरासर कोठामा छिरी।

भान्साको तयारी हजुरआमाले अघि नै गरिसक्नु भएको रहेछ। सबै खाना खान भित्र पसे। ऊ नआएको देखेर खोजी भयो तर ऊ नबोली चुपचाप बसिरही। अरु सबै खाना खान लागिसकेका थिए आमा पछि खाने हुँदा आमा नै खोज्दै कोठामा आइपुग्नु भयो। खाना खान किन नआएकी ? सुतेको देखेर सोध्नु भयो, “के भयो , किन सुतेको नि साँझको बेलामा ?” “त्यसै , टाउको दुखेकोले।” झुट बोली। “दुखे पनि अलिकति तातो खाएर सुत् । छिटो आइहाल है।” उसको जवाफ नै नपर्खी आमा भित्र पस्नु भयो।

अहँ, ऊ भित्र गइन। जाओस् पनि कसरी? आमालाई पनि उसले आफ्नो पीडा व्यक्त गर्न सकिन। दिदी खाना खाइसकेपछि फेरि बोलाउन आई। “ओई, खाना खान जा रे। ”
ऊ नबोली चुपचाप बसिरही। दिदीले सोधी , “के भएको छ तँलाई ? ” अप्ठ्यारो मान्दै भनी,” पेट र कम्मर दुख्दैछ।” पर सरेको त होइन कतै? दिदीले सोधी। “हो जस्तो लाग्यो।”
दिदीले गएर आमालाई सुनाई। आमा फत्फताउँदै आउनु भयो र सोध्नु भयो,” दिउँसैदेखि मुख अँध्यारो थियो। कतै दिउँसै त भएको थिइनस् ? “

“होइन भर्खरै। ” आमालाई त ढाँटी तर आफैलाई किन ढाँट्न सकिन्थ्यो र ? ऊभित्र त पहिलो पटक महिनावारी हुँदाको डर , सङ्कोच र अप्ठ्यारोपन भन्दा पनि बढी त हजुरबालाई आफूले छोएको कारण देउता आउला अनि के के होला भन्ने भय पो डरलाग्दो थियो। गाँउभरि हल्ला फलानीले पहिलो पटक महिनावारी हुँदा हजुरबालाई छोई रे अनि हजुरबालाई देउताले दु:ख दिएका छन् रे। सम्झदैमा कहाली लागेर आयो।

आमाले दिदीको साथ लिएर तुरुन्तै खाट बाहिर निकाल्नु भयो । महिनावारी भएको बेलामा खाटमा सुत्नु हुँदैन भनेर। कोठामा दुईतिर भित्ता र अर्को दुईतिर काठको फलेक ठोकेर बनाइएको थियो। भित्रबाट बाहिरतिर हजुरबुबा, बुबा, काका अनि भाइ हिँडेको देखिएला भनेर गुन्द्रीले पुरै बार्नु भयो। दिदीले कोठामा नै खाना पानी ल्याइदिई। सुरु भयो सातदिने गुप्तवास। मन लागिनलागी अलिकति खाना खाई। भुँइमा ओछ्याइएको ओछ्यानमा बसी र सिरकभित्र पसी। थकाइले निद्रा लाग्नु पर्ने तर मनभित्रको अव्यक्त मानसिक भयले अहँ निद्रा उसको वरिपरि नै आएन। आयो त केवल बच्चा बेलादेखि अनेकौँ किस्साका रुपमा सुनाइएका अवचेतन मनमा हुर्केका भयानक दृश्य मात्र। डरले मुटु ढुकढुक भएर आयो। ज्वरो आएजस्तो भयो ओठमुख सुकेर आयो। उठेर चिसो पानी पिई। यतिखेरसम्म त हजुरबा काम्दै पो होलान्। डरले खुम्चिई।

खै , कतिखेर निदाइछे ? बडो डरलाग्दो सपना पो देख्दै थिई। कुनै डरलाग्दो आकृतिले लखेट्दै थियो। ऊ निकै डराउँदै भाग्दै थिई। बिहान आमाले बोलाएको आवाजले आँखा खुल्यो। उज्यालो भइसकेको त थिएन। “धारामा अरु नजाँदै नुहाइधुवाइ गरी फर्किसक्नु पर्छ। ढिलो भयो भने फेरि भरे राति मात्र हो नि।” आमा बाहिर कराउँदै हुनुहुन्थ्यो। ओहो! कति डरलाग्दो सपना पनि!

शीतल बडो गाह्रो मान्दै उठी । बाहिर निकै अँध्यारो छ त्यसमाथि चिसो पानी। हरे ! सकस पनि कति हो? धारामा नुहाई लगाएका लुगा धोएर घरपछाडि बारीमा लगेर सुकाई अनि कोठाभित्र पसी अनि फेरि सिरकभित्र नै छिरी। सपना सम्झी। मन त सपनालाई छाडेर तुरुन्तै हजुरबातिर पो दौडिन थाल्यो। जुन गतिमा बिहानीले निशालाई त्यागेर उषाको प्रतिक्षा गर्दै थियो उति नै तीब्र गतिमा उसको मनले कुनै डरलाग्दो अनिष्ट खबरको प्रतिक्षा गर्दै थियो।
सबै कामधन्दामा लागे । बिहान न त कसैले उसको केही खोजखबर ग-यो न त कुनै अनिष्ट खबर नै लिएर कोही उसको सामु आए । बिहान खाना दिन आउँदा पनि कसैले हजुरबा र उहाँको देउताको बारेमा केही चर्चा गरेनन्।
महिनावारी अनि पाप र धर्मको बारेमा त उसको अवोध मनमस्तिष्कले खुट्याउनै सकेन। हिजोदेखिको बेचैन मन भने बिस्तारै शान्त हुँदै थियो। पलभर शान्त हुन नसकेको मन, पलपल हजुरबा र उनको देउताले तर्साएको मन दिउँसो कतिपटक त यादमै आएनन्। बेलाबेलामा झस्कन्थी कतिखेर हजुरबाको बारेमा कसले के खबर लिएर आउने हो।

साँझ प-यो। आमाबुबा घर आउनुभएको आवाज सुनी। मुटु जोडजोडले धड्किन थाल्यो। कान चनाखो भए। केही बेरमा आमाले नै खाना कोठामा ल्याइदिनु भयो।”
ठिकै छ नि तँलाई? पेट कत्तिको दुखेको छ?”आमाले सोध्नु भयो। “अलिअलि” डरले आमातिर नै नहेरी जवाफ फर्काई। दुखाइ पनि त हजुरबाको देवताको डर भन्दा बढी पो कहाँ नै थियो र ? खाना दिएर आमाले ल ल अब खा अनि धारामा जाउँला भनेर भित्र जानु भयो। अलिकति लामो सास तानी र खाना खाई। मनको डर अझैँ बाँकी थियो। हजुरबा र उनको देउताको बारेमा सोधेर ढुक्कसँग बस्ने मन… तर…?
केही बेरमा खाना खाएर घरधन्दा सकेर आमा आउनु भयो। धारामा लिएर जानु भयो आमाले । अरु अरु कुरा गर्नु भयो तर हजुर बालाई देउता चढेको कुरा त गर्नु नै भएन। चढेको भए त आमाले पक्कै पनि कुरा गर्नु हुन्थ्यो। त्यो समाजको सामु त्यो कुनै सानो कुरा पनि त थिएन । जघन्य अपराधको पो थियो त। सात दिनको गुप्तवास सकियो तर हजुरबाको देउताको प्रसङ्ग कसैले निकालेनन्।

उसको अवोध मनमस्तिष्कले अनुमान लगायो। मैले हजुरबालाई छोएको देउताले थाहा पाएनन्। त्यसैले हजुरबालाई देउता आएनन्। उसको अवचेतन मनले चेतन मनसँग खुसुक्क सोध्यो,” मान्छेको शरीरमा आउने देउताले पनि मान्छेकै माध्यमबाट मात्रै पो थाहा पाउने रहेछन् कि के होला है? हजुरबाको शरीरमा आउने देउताले म महिनावारी भएको र मैले छोएको थाहा पाउन पहिले हजुरबाले नै पो थाहा पाउनु पर्ने रहेछ कि के होला है? खै त हजुरबालाई देउता आएनन् त?

२० असार २०७७, शनिबार १२:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..