हेलो सरकार ! जनताको स्वास्थ्य छैन दरकार !!

पेशल आचार्य ।

फूलबुट्टा र तीर्यक शैली नअपनाई सबैले बुझ्ने सरल भाषामा भन्ने हो भने हामी वर्तमान समयमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको राज्यका सचेत (?) भनिने नागरिक हौं । यो भयो राज्य र हामी नागरिकको सैद्धान्तिक परिचयीय भाष्य जसलाई परिभाषाका क्रममा जो कोहीले खर्ररअ भन्न सक्छन् ।

अझ सामाजिक शिक्षा अध्ययन गर्ने स्कुल लेभलका टिनेजर विद्यार्थीहरूले त यति लेखेरै पनि राम्रो अङ्क ल्याउन सक्लान् । यही रटान रटेर पुरातन मान्यता र मानसिकताका कतिपय हाम्रा जनप्रतिनिधिहरू पनि आत्मरतिको सुखानुभूति गर्दा हून् ।

विडम्बना हामी सकसपूर्वक बाँचेको समयचाहिँ दुई मुठी सास अड्याएर हामी अघिल्तिर बेतोडले कुदेको कुद्यै छ । समयको रफ्तारलाई पक्रन नसकी हामी केवल पछुतोका गीतहरू मात्र गाइरहेका छौं । सो गीतमा हाम्रो सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र सार्वजनिक यातायातका अनगिन्ती चित्रहरूमा पीडाका कोरसहरू गुञ्जायमान छन् ।

एकातिर सुखानुभूतिका पाटाहरू नभएका पनि होइनन् । हामीले छोटो समयमै यति धेरै राजनीतिक परिवर्तनका फाँकीहरू देख्यौं तर तिनीहरूलाई जनजिविकाका सवालमा अनुवाद गरेर देशलाई मन्दिर र सरहदलाई पवित्र धाम मान्ने समग्र गरिब, निमुखा र भुइँ मान्छेहरूका हितमा प्रयोग गर्न भने कहिले जानेनौं ।

राणकाल, पञ्चायत, लोकतन्त्र र गणतन्त्रकालमा समेत हाम्रा अगुवा र आदरणीय भान्सेहरू नै लोभी र पापी भए । पद र सत्तामा जान नपाएकाहरूले पद र सत्ताको हालीमुहाली गर्नेहरूलाई सधैँजसो स्थायी प्रतिपक्ष भई गाली मात्र गरिरहे । जनता यी खान पाएर अजीर्ण भएका र खान नपाई ¥याल चुहाउनेहरूका बीचमा रहेको सेपिलो जमिनमा रहन बाध्य भए ।

यहाँ शासन बद्लिए पनि शासनका शैली भने कहिले पनि फेरबदल भएनन् । व्यवस्था बद्लिए पनि व्यवस्थापन गर्ने नयाँ कोही आएनन् । जनताले धेरै नाराम्राहरूका बीचबाट थोरै नराम्रो भएको मात्र छान्ने छनोटका अवसर पाए । राम्रो र ज्यादै राम्रोलाई मन मन्दिरमा सजाए पनि जनताले तिनीहरूलाई चुन्न र आफ्नो शासक बनाउन पाएनन् ।

हाम्रो समाजको छेउलागेको एउटा तप्का जहिल्यै राज्यको कोपभाजनको सिकार भैरह्यो । उनीहरूका लागि बोलिदिने कोही भएनन् । वारेस नपाएर ती कहिले कस्का कहिले कस्का भोटर मात्र भए । राज्यले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विकासका लक्ष्यहरू अपेक्षा गरिसक्दा पनि दूर दराजका गाउँठाउँहरूमा बस्ने दलित, निमुखा, अपाङ्ग, असक्षम र पछि पारिएका मानिसहरू जस्ताको त्यस्तै भए । उनीहरूको समस्या ज्यूँकात्यूँ नै रहिरह्यो ।

आफ्नो आवाज राज्यका विभिन्न तह र तप्कासम्म पुग्ने गरी सुनाउन नसक्ने त्यो वर्ग जहिल्यै पनि पाँचपाँच वर्षमा आउने र लोकतन्त्रको गम्भीर आभुषण मानिने निर्वाचनमा मात्र प्रयोग हुने भकुण्डो भएर भकुण्डियो ।

सपना त धेरैले देखाए ती र तीहरूलाई तर तर लाग्ने गरी कसैले पनि रोग, भोक, शोक, अशिक्षा र पछौटेपनलाई हरण गर्न कोही ‘राजनीतिक कृष्ण’ को अभ्युदय भएन । गरिबीलाई दुहाइदिएर सबैजसो राजनीतिक पार्टीहरू सत्तारोहण भए ।

हिजोका सत्तासीनहरू आज प्रतिपक्ष र आजका सत्तासीनहरू हिजोकै प्रतिपक्ष थिए । यसर्थमा दुवैले अख्तियार गरेको शैली भनेको कालेकाले मिलेर खाऊँ भाले नै थियो । यस्तो वातावरणमा समाजका केही टाठाबाठाहरूले आफ्ना सन्तानलाई सहर र सहरोन्मुख बजारमा बसाइँ सारे शिक्षा, स्वास्थ्य र चेतनामा अब्बल बनाए ती र तीहरूका सन्तती कोहीकोही पहिलो देश र कोहीकोही दोस्रो देशका पिआर र ग्रिनकार्ड होल्डर पनि बनेका छन् ।

बाँकी रह्यो भुइँ मान्छेका सन्तानहरूको कुरा ती तेस्रो भनिने मुलुकमा गएर ४०÷४५ डिग्रीको तापक्रममा रही खुन पसिना एकठ्ठा गरेर रेमिट्यान्स बटुलेर घरपरिवार, जिल्ला र देशलाई माथि उठाउन पट्टि लागे । तिनीहरूकै रेमिट्यान्समा रहेर यहाँ हामी सबै टाठाबाठा र भ्रमजीवीले दाइँ ग¥यौं । श्रमजीवी ठगिएको ठगिएै रहे । देशमा हुन या परदेशमा । घरका लागि घरदेखि बाहिर बस्नेहरू नै घरबारविहीन भए ।

वर्तमान समयमा हामी नेपालीले बाँचेको समयलाई हेरी समाजमा भए गरेका घटना÷परिघटना र विविध विषयातिरेकहरू भने विश्व र दक्षिण एसियाका केही सिष्टम बसिसकेका मुलुकहरूका दाँजोमा आफूलाई फरक स्तर, शैली र चेतका हिसाबले मेन्टेन गरिरहेको अवस्था विद्यमान छ ।

यस्तोमा देश भएर पनि देशका कतिपय अवयवहरू झीनो तारमा झुण्डिरहेझैँ लाग्छन् । जो कुनै पनि बेला चुँडिन सक्छन् । कुनै कुराको टुङ्गो नभएको यो राज्यमा बेटुङ्गोको चाहिँ अतीव टुङ्गो छ । देखिएका राजनीतिक कल्चर विगत् तीन दसकयताका घटनालाई सूक्ष्म ढङ्गले विश्लेषण गर्दा निराशा सिवाय अरु केही हात लाग्दैन ।

मेरो देशका युवाहरूलाई अहिलेसम्म यहाँको सिष्टमले तिमी पढिलेखि सकेर यहीँको माटोमा सुवाष छर्न सक्छौ भन्ने विश्वास नै दिलाउन सकेन । नाबालक केटाकेटाहरू कहिले साबालक भैएला र नागरिकता साथै पासपोर्ट बनाएर विदेश हुत्तिन पाउँला भनेरै सोचिरहेका हुन्छन् ।

बाझाँ अथाह भूमि देशैभरि छन् तर भुइँ मान्छेहरूका लागि दीगो कृषि विकासका कार्यहरू छैनन् । उत्पादित नेपाली कृषि उपजलाई गाउँठाउँबाट बजारसम्म बेरोकटोक ढुवानीमा अनेकौं गजवारहरू हालिन्छन् उता भारतबाट सिधै विषादियुक्त तरकारीहरू रातारात भित्रिन्छन् । हामी उहिल्यैदेखि गाउँका नासपातिलाई हेला गरेर विदेशी स्याउ पूज्न बानी परिसकेका मानिसहरू हौं ।

अहिलेसम्मको परिणति हेर्दा –‘खोदा पहाड निक्ला चुहा’ भन्ने स्थिति स्पष्टसँग देखिएको क्षेत्र हो – शिक्षा । तैपनि हामी अझै शिक्षाका नाममा दुईथरी बाटो अपनाएर जनतालाई आश्वासनको ललीपप देखाउँदै हामी समाजवादको आलाप अलापीरहेका छौं ।

हामीले हिजोको शिक्षालाई नामेट गर्नकै लागि शिक्षामा निजीकरणको बाँसुरी बजाएर राज्य संरक्षित शैक्षिक माफियाहरूको उन्नतिका लागि अनेकानेक ऐन कानुुनहरूको तर्जुमा गरेका छौं । तिनै शैक्षिक माफियाहरूको भित्री रुपमा नाभी राजनीति हाँक्नेहरूसँग जोडिएको छ अनि आफ्ना केही झोले र हनुमाने कार्यकर्ताहरू उफारेर आफू अनुकूलका निर्णयहरू गराउन पछि पर्दैनौं ।

सार्वजनिक स्वास्थ्यको अवस्था झन् कति दारुण खालको छ भन्ने सिनारियो नियाल्न वर्तमान समयको पेण्डामिक (महामारी) नै काफी छ । राजनीतिलाई साहित्यले कसरी मार्गदर्शन गर्छ भन्ने एउटा सानो प्रसङ्गमा भन्नु पर्दा प्रसिद्ध कवि भूपिले करिब पचास वर्षअघि लेखेको ‘यो हल्लै हल्लाको देश हो’ र ‘हामी’ कविताले अझै हामी नेपालीलाई हल्लाई रहेका छन् ।

त्रिकालदर्शी कवि शेरचनका कवितांशहरू अझै घतलाग्दा दृष्टांशका रूपमा ज्यूँदो भएर यत्रतत्र प्रयोग भैरहनु राजनीतिलाई साहित्यले डोहो¥याउँछ भन्ने गतिलो उदाहरण समेत हो ।

तर के हामी बाँचेको युगलाई लोकतन्त्र र नागरिक अधिकारका हिसाबले हेर्दा हाम्रो सैद्धान्तिक भाष्य र व्यवहारमा समानता वर्तिएको छ त ? यो यतिखेर यो प्रश्न सम्पूर्ण नेपाली जनजनका हृदयमा उठेको छ । राणाशासन कालमा हामी केवल रैती थियौं । पञ्चायतमा आइपुग्दा हामी जनता भयौं र अहिलेको गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुग्दा भने नागरिक भएका छौं । यो पनि अहिले भाषणमा मात्र सिमित रहेको छ । व्यवहारमा लागू हुनका लागि कम्तिमा सबै नेपाली साक्षर र शिक्षित भैसक्नु पर्छ । आफ्नो हक, अधिकार र कर्तव्य राम्रोसँग बुझ्ने भैसक्नु पर्छ । यो भएको अहिले देखिन्नँ ।

अहिले हाम्रो अघिल्तिर भएको सिष्टमकै लागि पनि करिब आठ दसकदेखि अनवरत लडिरहेका रहेछौं । यो पुस्तौनी लडाइँमा हाम्रा जिजुहरू, हजुरबाहरू, बाहरू र हाम्रो समेतको अतुल लगानी परेको छ भनेर हामी निशङ्कोच भन्न सक्छौं ।

जहानीया राणाशासन कालमा प्रजातन्त्रका लागि लडेर अमरत्व प्राप्त गर्ने ती महान् चार सहिदहरूले गरेको बलिदानदेखि यता ससर्ती हेर्दा संविधान सभाबाट संविधान बनाई लागू गरेका मितिसम्मका काल खण्डलाई परिवर्तनको लडाइँसँग जोड्ने हो भने पनि आठ युग समय नै व्यतित भैसक्यो ।

यहाँ करिब बीस वर्षको समयलाई एक युग भनेर मान्ने काम भएको हो । पुर्खाहरूको मान्यतालाई सापट लिँदा बाह्र वर्षको एक जुग मानिएको छ । करिब एक दसकमा समाजका मूल्यमान्यता र चाहनाहरू परिवर्तन हुने भएकाले पनि पुर्खाहरूको यो मान्यता ठीक जँच्दछ । यस मानेमा हामीले सात युग नै पार गरिसकेको अवस्था जो छ ।

यति आधुनिक भनिएको समयसम्म आइपुग्दा पनि हामी जनतानामक अमूर्त नामलाई भँजाएर यहाँ सबैले आफ्नो राजनीतिक रोटी नै सेकेको देखेका छौं ।

संसारमा प्रजातन्त्र अब्बल मानिएको व्यवस्था हो । अझ कसैकसैले त एक कदम अघि बढेर प्रजातन्त्रका सन्दर्भमा ‘संसारका सबै व्यवस्थाको विकल्प छ तर प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्र हो’ भनेर समेत भनेका छन् । तर अहिले समय फेरिएको छ ।

हरेक मान्यताहरूमा समय, विधि र प्रविधिले गर्दा उलटपुलटको स्थिति हाम्रा सामु विराजमान छ । पुरानो पुस्ता क्रमशः अस्ताउँदा क्रममा छन् भने समाजका हरेक क्षेत्रमा स्थापित मूल्य र मान्यताहरूमा नयाा पुस्ता उदाउँदो स्थितिमा छन् ।

हिजोको समय आज छैन । आजको समय सायद् भोलि नहोला । समय क्षणपल, सेकेण्ड निमेश र घडी घन्टामै पनि आनकातान दिन दुगुना रात चौगुनाका दरले बद्लिरहेको छ । यो समाज, राजनीति, धर्म, शिक्षा, बेपार, कृषि, प्रशासन र न्याय सबैतिर कतै राम्रा कुराहरू र कतैतिर नराम्रा कुराहरू समेत देख्न पाइन्छ ।

यस्तो स्थिति देख्नु पर्दा कहिले त आफूलाई आफ्नै देश र यहाँको सिष्टमप्रति नै विश्वास भएको लाग्दैन । न्यायका लागि लागी पर्दा अन्याय सहनु परेको, एकपछि अर्को गर्दैै अनेक काण्ड र घटनाहरूले देशलाई छोपिराखेका, जनताको मानसिकता अनुसारका शैली अख्तियार गरी शासन सञ्चालन नभएको देख्दा निराशाका घनचक्करमा जनताहरू नै फँस्न पुगेका हुन् किजस्तो पनि लाग्छ ।

यस्तो अवस्थामा सचेत हृदयले प्रश्न गर्छ – के हामी अझै पनि सिष्टम नै नभएको राज्यमा विचरण त गर्दै छैनौं ? अन्तर्हृदयले समय समयमा यक्ष प्रश्न गर्छ तर गतिलो उत्तर कहिल्यै पाउँदैन । हेलो सरकार ! जनताको स्वास्थ्य अझै छैन तेरो दरकार !!

नेपालको कूल जनसङ्ख्याको ६३ प्रतिशत जनसंख्या १६ देखि ३९ वर्ष उमेर समूहका युवाहरुको छ । विज्ञहरुका अनुसार यो संख्या भनेको सरकारले युवाहरुको असन्तुष्टि र मागलाई सम्बोधन गरेन भने ठूल्ठूला विद्रोह उठ्न सक्ने पूर्वाधारहरु देखिँदैछ ।

यस तथ्यलाई हालै अमेरिकामा एक अश्वेत नागरिक माथि पुलिसका घुँडाबाट ज्यान गएको सन्दर्भमा स्वतस्फूत रुपमा अमेरिकैभरि निस्केको जुलुस, सभा, तोडफोड र आन्देलनका कारण करिब ६० अरब अमेरिकी डलरबरारको धनमालको क्षति भएको थियो । सो आन्दोलन अझै पूर्ण मत्थर भैसकेको छैन । यसले हामीलाई आफ्नु कार्यशैली बदल्नु पर्ने कुरामा झक्झक्याएको छ ।

३१ जेष्ठ २०७७, शनिबार ११:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..