‘नेपालमा राजनतिक दल आवश्यक छ कि छैन ?’

करिब एक दशक पहिलेदेखि एक शब्दावली प्रयोगमा आइरहेको छ । त्यो हो ‘सहभागितामूलक प्रजातन्त्र’, अब यो प्रजातन्त्र शब्दलाई लोकतन्त्रले प्रतिस्थापन गरेको छ । मुलुकमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो करिब ३० वर्षपछि । चाक्सीबारीमा भएको नेपाली काङ्ग्रेसको अधिवेशनमा आएका भारतीय पाहुना चन्द्रशेखरले भनेका थिए कि नेपालमा जनसङ्ख्याअनुसार डेढ सयभन्दा धेरै दल हुनुपर्छ । दल नै नभएको व्यवस्था प्रजातन्त्र हुनै सक्दैन । लगत्तै भएको पञ्चायतविरोधी आन्दोलनमा यो कुराको प्रशस्त उल्लेख भयो । अर्थात्, बहुदल भनेको बहुत वा धेरै दल । जति धेरै दल हुन्छन् त्यति नै प्रजातन्त्र, यो कुरा त्यसबेला प्रशस्त प्रयोग गरियो ।

समयले बहुदलीय प्रजातन्त्रलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनाइदियो । झन्डै–झन्डै चन्द्रशेखरजीको कल्पनाको दलसङ्ख्या पुग्यो नेपालमा । तर, हिजोको त्यही ‘जति धेरै दल हुन्छ त्यति नै लोकतन्त्र’ भन्ने मान्यता कठिन भयो । दल नियोजन गर्नुपऱ्यो थ्रेस होल्ड लगाएर । विराटनगरमा नर्थ साउथ कलेक्टिभको एक कार्यक्रमा पूर्वनिर्वाचन आयुक्त इला शर्मासँग भेट भयो । उनको धारणाअनुसार मतपत्र ठूलो हुने भएर दल नियोजन गर्नुपरेको रहेछ । अर्थात्, लोकतन्त्रमा जनताले पाउने अधिकार प्रयोग गर्न जनताले दल चुन्नुपर्छ । त्यो चुन्न निर्वाचन हुनुपर्छ, निर्वाचनमा मतपत्र चाहिन्छ । दल जति धेरै हुन्छ त्यति लोकतन्त्र हुन्छ । तर, दल धेरै भए निर्वाचनमा मतपत्र ठूलो हुन्छ । त्यसैले दल नियोजन हुनुपर्छ । यो कस्तो अनौठो तर्क हो ? कस्तो धारणा हो ?

यो गाँठो खोल्नुपर्ने दायित्व हिजोका दिनमा नेताहरूको जमानी बस्ने नागरिक समाजको हो । नागरिक समाज भनेर समग्रमा भन्नुपर्ने आवश्यकता पनि छैन । किनभने त्यहाँ पनि केही अगुवाहरूको हालीमुहाली नै थियो त्यसैले फलाना–फलाना भनेर तोक्न नै सकिन्छ । तर, त्यसबेला आदर्शको कुरा गर्नेहरू अहिले नेताहरूले कुनै राजनीतिक नियुक्ति देलान् भनेर चुप छन् । त्यो मौनमा उनीहरूले नेतृत्व गरेको संस्थाकाहरू बोल्ने त कुरै आएन । उसै पनि धेरै बोले भने दलका नेता र तिनका धुपौरेहरूले ‘ज्यादा बकबक नगर, ल्याकत भए चुनाव जितेर आइज’ भन्छन् । अनि उनीहरूबाट हण्डी पाएका पत्रकार पनि त्यसैमा लोली मिलाउँछन् ।

आजभोलि कुनै विषयको विज्ञ विश्वविद्यालयले पैदा गर्दैन । यस्तै आलाकाँचा पत्रकारहरूले विज्ञ पैदा गर्दछन् । यसरी पैदा भएका विज्ञहरू आफूलाई विज्ञ बनाउने पत्रकारप्रति नतमस्तक हुन्छन् । यदि हिम्मत नै गरिहाले भने पनि केही उद्दण्ड पत्रकारहरू ‘दिएको मान खाएर चुपचाप बस’ भनेर धम्क्याउन पछि पर्दैनन् । अझ युट्युबे पत्रकारहरूको त कुरा गरेर साध्य नै छैन । त्यसैले अहिलेको अवस्थामा स्वतन्त्र चिन्तन नै समाप्त हुँदै गएको छ । अशिष्ट र अशोभनीय बोली बोल्नेको बोलवाला छ । किनभने त्यस्तैले जनताको ध्यान तान्छन् । यो ध्यान तान्ने काममा बाबुराम अब्बल थिए, अहिले केही सन्तुलित बोल्न थालेका छन् । अर्को पुष्पकमल छन् जो जथाभावी बोलेर आफू ठूलो भएको आत्मरतिमा लिप्त छन् ।

जो नेताले आफूलाई जसरी भए पनि जस्तो भए पनि नाम दियो त्यो दल त कायम राख्न सकेन भने त्योभन्दा ठूलो हरुवा को होला ? पुष्पकमल त्यही हरुवा हुन्, जो कुनै कारबाही नहुने अभयदान पाएर अमेरिका जाँदा विमानस्थलदेखि नै लुक्छन् । नेपाल आएर मलाई कारबाही भएन भनेर शेखी बघार्छन् । यस्ताले बोलेको कुरा ठट्टाभन्दा ज्यादा महत्व राख्दैन । सत्ताधारीसँग नटाँसिएमा जताततै असुरक्षा देखेर आत्मा काम्नेले कसैलाई कारबाही गर्छु भनेको सानो केटाकेटीले वयस्कलाई एकै मुक्कामा दाँत झारिदिन्छु भनेसरह हो । त्यसैले प्रचण्ड भनिने पुष्पकमल दहाल सबैतिरबाट पराजित हुन् । त्यस्ताको बर्बराहटको कुरा गर्नु भनेको नचाहिँदो महत्व दिनु हो ।

यस्ता गैरजिम्मेवार हलुका कुरा गर्नेहरू दलको बलमा निर्वाचन जित्छन् । कसैले केही तार्किक कुरा गरेमा दम्भले चूर भएर चुनाव जितेर आइज भन्छन् । अब यस्तैको दया–कृपाबेगर उम्मेदवार त हुन सम्भव छैन भने दलहरू आवश्यक छन् त ? किनभने लोकतन्त्र भने पनि प्रजातन्त्र भने पनि त्यो स्वतः समावेशी हुनुपर्छ । जनताले आफ्नो अधिकार स्वयम् प्रयोग गर्न पाउनुपर्दछ । वर्षेनी करोडौँको राजस्वले आफ्नो निर्वाचन क्षेत्रको मतदाता प्रभावित पार्नेसँग धनमा तन्नमले निर्वाचन कसरी लड्छ ? करोडौँ खर्च हुने, दलको कृपाबेगर सोच्न नसकिने प्रतिनिधित्व जनताको होइन दलको हो । त्यसैले नेपालजस्ता मुलुकहरूमा अब ‘के लोकतन्त्रमा दलको आवश्यकता छ ?’ भन्ने बहसले स्थान पाएको छ । अनौठो लागे पनि यो यथार्थ हो ।

(लेखक स्वयम्भुनाथ कार्की राजनीतिक विश्लेषक हुनुहुन्छ)

२८ श्रावण २०७६, मंगलवार ०४:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..