स्थायी ‘अस्थिर सरकार’, संविधानको देन

उखानै छ, ‘हतपतको काम लतपत’ । यही उखान चरितार्थ भयो साल उल्लेख नगरिएको ‘नेपालको संविधान’ २०७२ साल असोज ३ गते जारी गर्न । यसको मस्यौदामा अनगिन्ती यस्ता प्रावधानहरू छन् जो एक–आपसमा बाझिएका छन्, त्यसैले हतार नगरौँ भन्नेहरू धेरै थिए । त्यो धेरैमा सबै किसिमका व्यक्तिहरू थिए, तर शीर्ष नेताहरूले कसैको कुरा सुन्न आवश्यक नै ठानेनन् । अन्तरिम संविधानमा पेलेर ठेलेर मनलाग्दी संशोधन गरेको झझल्कोले जसैतसै एक थान संविधान त लागू गरिहालौँ, पछि संशोधन गर्दै जाउँला भन्ने सोचले काम गर्यो ।

यो हतारको कारण थियो वैशाखको महाभुइँचालो, यो कुरा नेताहरूले लुकाएनन् पनि । तर, धूर्ततापूर्वक पेस गरे यो भुइँचालोले आफूहरूलाई जिम्मेवार बनाएको भनेर । यो कुरा कत्तिको खोक्रो रहेछ भन्ने कुराको योभन्दा ठूलो प्रमाण अरू के होला कि संविधान लागू गर्ने प्रक्रिया सुरु भइसकेपछि भुइँचालोपीडित अहिलेसम्म उपेक्षित नै छन् । यदि भुइँचालोपीडित पुनस्र्थापनाको निमित्त संविधानसभामार्फत् गठन भएको सरकारलाई विदेशीहरूले मान्यता दिएको भए यो हतारो हुने नै थिएन । नेताहरू तोकिएको समयमा संविधान बन्न नसके आकाश नखस्ने अभिव्यक्ति दिन थालिसकेका थिए । सर्वोच्च अदालतले हस्तक्षेप नगरेको भए सम्भवतः आजका मितिसम्म संशोधन गर्दै म्याद बढाउँदै गरिएको हुने थियो । नत्र दोस्रो निर्वाचन त भयो तेस्रो किन हुन नसक्ने भन्ने तर्क यसबेला बलवान् भएको हुने थियो ।

संशोधन गर्दै जाने मनस्थिति जारी भएको लगत्तै संशोधन हुनुले नै बताएको छ । तर, यो संविधान संशोधन गर्ने विषयहरूमा लचक भए पनि प्रक्रियाको कारणले संशोधन असम्भवप्रायः छ । यो कुरा पहिलो संशोधनको निमित्त चपाउनुपरेको फलामको चिउराले देखाइसकेको छ । तैपनि कसै गरेर दुईतिहाइ पु¥याउने आशा यो निर्वाचनले तुहाइदिएको छ । सम्भव–असम्भव सबै किसिमका तरिका प्रयोग गरेर आँधीबेहरी नै ल्याएको यो निर्वाचनमा पनि कुनै एक दलले सामान्य बहुमतसमेत पु¥याउन सकेको छैन । मिलिजुली सरकार चलाउनुपर्ने अवस्था छ । यो आँधीबेहरी अर्कोपल्ट आउन सम्भव भए वा नभए पनि मिलिजुली, भागबण्डा अनि राजनीतिक सहमति नेपालको प्रारब्ध भएको छ ।

त्यसमाथि सङ्क्रमणकालमै सरकार बदल्ने प्रावधान नै छैन भनेर अध्यादेशको घोडा चढ्नुपरेको थियो । यो निर्वाचनमा त राष्ट्रिय सभा निर्वाचन नै धरापमा परेको कुरा गरिँदै छ । यसको कुनै वैधानिक बाटो नेताहरूले भेटेका छैनन्, त्यसैले राजनीतिक सहमतिले विधान नाघ्ने जमर्को गरिन लागेका समाचार आइरहेका छन् । दुईतिहाइ आकाशको फल भएको छ, संविधान संशोधन चित्रको स्याउ भएको छ जसलाई देख्न त सकिन्छ, तर खान सकिन्न । यसरी यो संविधानले सङ्क्रमणकालबाट बाहिर निक्लन पनि आफ्नै जन्मदाताहरूबाट बलत्कारमा पर्नुपर्ने अवस्था आएको छ ।

यो त सुरुवाती सङ्कट मात्र हो यो संविधानलाई । यस्ता अनगिन्ती सङ्कटको सामना गर्नु नै पर्ने अवस्था छ । जारी गर्दा नै यो संविधानमा लगातार संशोधन गरिनपर्नेछ भनिएको थियो । संविधानलाई देशको मूल कानुन होइन, सम्झौतापत्र सम्झिने ‘अपराध’ गरिएको थियो । तत्कालीन राजनीतिक शक्तिहरूबीचका शक्ति सन्तुलनको सम्झौतापत्र परिभाषित गरिएको थियो । यी राजनीतिक शक्तिहरूको क्षमता, बल आदि आवधिक हुन्छ त्यसैले संविधानलाई सम्झौतापत्र मान्ने हो भने त्यो अस्थायी हुन्छ । यसै कारणले सम्झौतापत्र सम्झिने कामलाई अपराध भनिएको हो । जो आफैं अस्थायी प्रकृतिको छ त्यसले कसरी स्थिर सरकार दिन सक्छ ? संविधानको हरेक संशोधनले मूलभूत कुराहरू पनि परिवर्तन गर्न सक्छन् । मूलभूत कुराहरू भनेको घरको जगजस्तो हो । जुन घरको जग कतिखेर भत्काउँदै परिवर्तन गरिने गरिन्छ त्यो घर त त्यसै पनि कमजोर हुन्छ । होइन कायम नै राख्ने हो भने रेखाङ्कन गर्दै बदल्ने सोच राखिएको जग त्यसै पनि छन्द न बन्दको हुन्छ । अर्थात् यो संविधानले हमेशा अस्थिर सरकार दिन्छ ।

समानुपातिक निर्वाचनमा थ्रेसहोल्ड राखेर समानुपातिकको मर्ममै प्रहार गर्दा पनि कुनै एक दलले बहुमत पु¥याउन नसकेकै हो । तसर्थ यो संविधानको मूलभूत ढाँचामा परिवर्तन नभएसम्म नेपालमा अस्थिर सरकार नै रहन्छ । मूलभूत ढाँचामा परिवर्तन गरेको संशोधन असम्भव नै छ । दुईतिहाइ पुर्याउन जस–जसको सहयोग आवश्यक छ तिनीहरू यो समानुपातिक हटाएर केवल प्रत्यक्ष निर्वाचन प्रणाली राख्न तयार होलान् भनेर सोच्न सकिन्न । यसको नतिजा निक्लन्छ कि एक बलियो मियो नभएको अवस्थामा मुलुक नै असफल राष्ट्र हुने अवस्था आउँछ । कसैलाई मन परे पनि नपरे पनि सबै शक्तिलाई प्रभाव पार्ने मियो हुने ल्याकत हाललाई केवल गद्दी खोसिएका राजामा मात्र देखिन्छ । अहिले देखिएका नेताहरू चाहे प्रचण्ड हुन् वा केपी, शेरबहादुर हुन् वा विप्लव कसैमा त्यो ओज छैन जसले विरोधी र समर्थक दुवैमा तरङ्ग पैदा गर्न सकोस् । तर, निर्मलनिवासको अपारदर्शी पर्खालभित्र बसेर आफ्ना पुर्खाको गौरव, शाहवंशको परम्परा उनले स्मरण गर्दै छन् कि छैनन् जान्ने कुनै उपाय छैन । या पछिल्ला दुईपटकजस्तै उनलाई कसैले उचालेर गद्दी चढाउला भन्ने प्रतीक्षा पो छ कि ? यदि त्यसो हो भने भन्नैपर्ने हुन्छ ‘वीर भोग्या बसुन्धरा’ । नत्र दुवैपटक गद्दीमा सजिलै राखिएजस्तै सजिलै उतारिँदैन थियो होला ।

(लेखक स्वयम्भूनाथ कार्की राजनीतिज्ञ एवं विश्लेषक हुनहुन्छ)

५ पुष २०७४, बुधबार २३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..